बाढीपीडीतको दुःखेसोः छाक टार्न मुस्किल छ, चाडबाड कसरी मनाउने ?

Share post:

कञ्चनपुर । नेपालीहरुको महत्वपूर्ण ठूलो चाड दसैँको चहलपहल सबैतिर बढेको छ। वर्षमा एक पटक आउने चाडबाडले गाउँ–सहरमा उत्साह ल्याएको छ।

काम तथा अध्ययनका लागि घर बाहिर रहेकाहरु घर फर्किएका छन्। दसैँको चाजोपाजो मिलाउन मानिसहरु व्यस्त छन्।
तर कञ्चनपुरका बाढी प्रभावित बस्तीमा भने दसैँको कुनै चहलपहल नै छैन। बाढी प्रभावित बस्ती भने चाडबाडमा बेला सुनसान छन्।

बाढीले विस्थापित शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका १५ परिवारको गाउँ नजिकैको जनजागरण सामुदायिक वन बासस्थान बनेको छ। बाढीले गर्दा यस वर्षको चाडबाड खल्लो भएको एकान्त टोलका हरिकृष्ण भट्ट बताउँछन्।

‘बाढी पछि घर फर्किनै पाएका छैनौँ, जंगलमा त्रिपालमुनि रात काटिरहेका छौँ, घर घरभित्रका लत्ताकपडा, खाद्यन्न सबै बनहरा नदीको बाढीले बाढीले बगायो,’ उनले भने, ‘वर्षमा एक दिन आउने चाडबाड आउँदा खुसी हुनु पर्ने हो, यसपटक बाढीले चाडबाड खल्लो बनाएको छ।’

गत वर्ष दशैँ तिहारमा इष्टमित्र, साथीभाइलाई घरमा बोलाएर रमाइलो गरेको उनी सम्झन्छन्। तर यसपटक भने कसैलाई त्यस्तो गर्न सक्ने स्थिती नरहेको भट्ट बताउँछन्।

उनी भन्छन्, ‘बाढीले खेत र घरभित्रको सबै बाली सखाप पा¥यो, खान–बस्नलाई समस्या छ, यसपाली इष्टमित्र कसैलाई बोलाउँदैन, आए भने पनि कहाँ बसाल्ने र के खुवाउने ?’

एकान्त टोलकै मेघु बोहरालाई पनि चाडबाडले छोएको छैन। वर्ष दिनमा आउने चाडबाड मनाउने रहर हुँदा हुँदै पनि उनी यसपटक विगतका वर्ष जस्तो रमाइलो गर्न सक्ने अवस्थामा छैनन्।

‘सामान्य टीका त लगाउनु पर्छ, यसपाली आफन्त, इष्टमित्र कसैलाई बोलाउने योजना छैन,’ उनी भन्छन् ।

अझै बाढीको डरले गाउँमा फर्किन नसकेको मेघु सुनाउँछन्। ‘अझै पानी पर्ने भनिरहेका छन्, फेरि के पो हुन्छ भन्ने डरले त्यहाँ गएका छैनौँ’, उनले भने, ‘जंगलबाट पनि सामुदायिक वनले यहाँबाट छिटो हट्नुस् भनेर गएका छन्, अब हामी कहाँ जाने ? के गर्ने ?’

बिहान बेलुकाका छाक टार्न समस्या भएको अवस्थामा चाडबाड कसरी मनाउने भन्ने चिन्ताले शुक्लाफाँटा नगरपालिका–११ बनहरा शिविरका लक्ष्मण बिष्टलाई पिरोलेको छ।

‘सबैका घरमा मीठा–मसिना पाक्न थाले, हाम्रो घरमा त बिहान बेलुकीको छाक टार्न पनि निकै सकस छ, बाढीले हामीहरूलाई बिचल्ली बनायो,’ उनले भने, ‘पहिले त जसोतसो चाडपर्व त राम्रोसँग बनाउँथ्यौँ, अहिले त मनले चाहेर मात्रै नहुने, मीठो–मसिनो पकाउने त टाढाको कुरा हो, बिहान बेलुकीको छाक टार्न पनि मुस्किल छ ।’

भदौँ ३१ गते बनहरा, स्याली, मछेली, दोदा लगायत नदीमा आएको बाढीले कञ्चनपुरको शुक्लाफाँटा, लालझाडी, बेलौरी र पुनर्वास नगरपालिकाका पाँच सय परिवार भन्दा बढि प्रभावित भएका थिए।

ताजा समाचार