भीम रावलको गृहजिल्लामा एमाले ‘क्लिन स्वीप’

Share post:

कञ्चनपुर । नेकपा एमालेका नेता डा. भीम रावलको गृहजिल्ला अछाममा एमाले ‘क्लिन स्वीप’ भएको छ। २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा क्षेत्र रहेको अछाममा एमालेले एउटा पनि सीट जित्न सकेन्।

अछामको ६ वटै क्षेत्र सत्तारुढ गठबन्धनका उम्मेदवारले आफ्नो पोल्टामा पारेका छन्। ०४८ सालदेखि चुनाव लड्दै आएका एमाले नेता भीम रावलले यसपटक अछाम १ मा टिकट नै पाएनन्।

उनको टिकट खोसेर माओवादी केन्द्रबाट एमालेमा समाहित भएका झपट बोहरालाई क्षेत्र नं १ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाइएको थियो। उनी नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरसंग पराजित भए।

क्षेत्र नं. २ मा नेपाली कांग्रेसका पुष्पबहादुर शाह निर्वाचित भए। उनले निवर्तमान सांसद एमालेका यज्ञबहादुर बोगटीलाई पराजित गरे।

क्षेत्र नं. १ को प्रदेश सभा १ मा नेपाली कांग्रेसका मेघराज खड्का एमालेका देवबहादुर कुँवरलाई पराजित गर्दै निर्वाचित भए।

प्रदेश सभा २ बाट माओवादीका झपटबहादुर साउद प्रदेश सांसद चुनिए। त्यहाँ उनले एमालेका कृष्णप्रसाद जैसीलाई हराएका थिए।

क्षेत्र नं. २ को प्रदेश सभा १ मा एमालेका भीम बहादुर विष्टलाई हराउँदै माओवादी केन्द्रका अक्कलबहादुर रवल निर्वाचित भए।

यस्तै क्षेत्र नं. २ को प्रदेश सभा २ मा कांग्रेसका मानबहादुर रावलले बाजी मारे। उनले एमालेका शिबप्रसाद उपाध्यायलाई पराजित परेर प्रदेश सभाको यात्रा तय गरे।

ताजा समाचार