ढुंगा हानाहानपछि भारतीय पक्षले बन्द गरायो दार्चुलामा नेपाल–भारत पुल

Share post:

कञ्चनपुर। भारतीय पक्षले दार्चुलास्थित नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको अन्र्तराष्ट्रिय पुलको नाका बन्द गरेको छ।

महाकाली नदीमा तटबन्ध निर्माणको क्रममा भएको विवादमा आइतबार नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि सोमबार भारतीय पक्षले पुल बन्द गरेका हुन।

महाकाली नदीको यो पुल भएर नेपाल–भारत ओहोरदोहोर गर्ने गरिन्छ। भारतीय नागरिकले आइतबारको घटनालाई लिएर बिहानैदेखि महाकाली नदीमाथिको पुल बन्द गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए।

उनका अनुसार भारतीय पक्षले पुलमा आवतजावत गर्न दिएको छैन। महाकाली नदीमा भारतले एकतर्फी ढंगले तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकले आइतबार विरोध गरेका थिए। उनीहरुले पुल समेत बन्द गरेका थिए।

यात्रुहरु अलपत्र परेपछि बेलुका प्रहरीले सामान्य बल प्रयोग गरेर पुल खोलेको थियो। सोमबार (आज) फेरि भारतीय पक्षले पुल बन्द गरेका हुन।

भारतीय नागरिकले बन्द गराएको पुल खुलाउन प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। पुल बन्द हुँदा महाकाली वारि–पारी यात्रुहरु रोकिएका छन्।

ताजा समाचार