आमाकै आँखाअगाडि तुइनबाट खसेर महाकालीमा बिलाए दीपेन्द्र

Share post:

कञ्चनपुर। दार्चुलाको व्यास गाउँपालिका–४ डोकटस्थित खालीनगर कौनणीकी राइमती विष्ट २१ पुस बिहीबार दिउँसो २ बजेतिर खाजा खाएर मेलामातका लागि हिँडिन्।

उनीसँगै गाउँका अन्य दुई महिला पनि थिए। कौनणीका स्थानीय मेलापातका लागि महाकालीपारी भारततर्फ जाने गर्छन्।

महाकाली किरानको बस्ती हो, कौनणी। व्यास गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नं। ४ अन्तर्गत पर्ने यो क्षेत्र निकै दुर्गम छ। त्यहाँ सञ्चारमाध्यमका साधनले पनि राम्रो काम गर्दैनन्।

होचो भूभाग कौनणीका स्थानीय बासिन्दालाई फोन सम्पर्क गर्न डाँडातिर उक्लिनुपर्ने बाध्यता छ। कौनणीमा दुईरतीन परिवारको मात्रै बसोबास छ।

महाकालीपारी पनि यस्तै दुईरतीन घर मात्रैको गाउँ छ। गाउँसँगै जंगल छ। कौनणीका स्थानीय घाँस दाउराका त्यही जंगल पुग्छन्।

उनीहरूका लागि महाकाली नदी तगारो बन्ने गर्दछ। कौनणी भन्दा २र३ किलोमिटरको दूरीमा पर्ने मलघट्टे भन्ने ठाउँमा महाकाली तर्न झोलुङ्गे पुल छ।

तर, स्थानीयहरु लुकिछिपी महाकालीमाथि तुइन राख्छन्। त्यही तुइनकै सहारामा महाकाली वारिपारी गर्छन्। बिहीबार राइमती पनि तुइनबाटै घाँस ल्याउन पारी हानिएकी थिइन्।

उनले आफ्नो पछि पछि १० वर्षीय छोरा दीपेन्द्र लागेको उनले पत्तै पाइनन्। झोलुङ्गे पुल नभएर राइमती सँगै अन्य दुई महिला तुइनमार्फत पारी गए।

स्थानीयका अनुसार महाकाली पारी पुगेर करिब ५० मिटरमाथि हिँडिसकेपछि राइमतीले छोरालाई तुइनमा झुण्डिएको देखिन्। त्यो देखेर राइमती झस्किइन्। हतरपतर तुइन भएतिर झरिन्।

दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता
दीपेन्द्रले कहिल्यै तुइन चढेका थिएनन्। सामान्यतस् फलामको साङ्लो लगाएर तुइन तर्ने गरिन्छ। तर, दीपेन्द्र तुइनको लठ्ठामा केही नलगाइ हातले तर्दै थिए।

राइमती सडकबाट तुइन भएको ठाउँमा पुग्दा दीपेन्द्र महाकालीको बीचमा पुगिसकेका थिए।

एकछिनमै राइमतीको आँखैअगाडि छोरा दीपेन्द्र महाकालीमा हेलिए। उनले केही गर्न सकिनन्, छोरो महाकालीमा खेसेको पीडादायी दृश्य हेरेको हेर्‍यै भइन्।

‘झोलुङ्गे पुल हुँदा पनि तुइन राखेर महाकाली वारिपारी गर्दछन्, ती बालकले कहिल्यै तुइन चढेका रहेनछन्, विना रिङ हातले नै पारी जान खोजे,’ व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले भने, ‘बीचमा पुग्दा हात थाकेर कालीमा खसेको थिए।’

दीपेन्द्र तुइनबाट हात फुत्केर महाकाली खसेपछि राइमती र उनीसँगैका महिलाले खोजी गरे। तर उनको अत्तोपत्तो लागेन। घटनापछि विष्ट परिवार विक्षिप्त छ। गाउँ शोकमा डुबेको छ। राइमतीले आखैअगाडि परिवारको हुर्किँदै गरेको सहारा गुमाउँदा पीडामा छिन्।

राइमतीका दुई छोरा छन्। दीपेन्द्र कान्छा थिए। उनी ब्रह्मस्थान आधारभूत विद्यालयका कक्षा ४ मा पढ्थे। जेठा छोरा लोकेन्द्र ब्रह्मस्थान आधारभूत विद्यालयमै कक्षा ६ मा अध्ययनरत छन्।

उनका श्रीमान् वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा छन्। घटना बिहीबार भए पनि शनिबार दिउँसो मात्रै बाहिरिएको थियो।

अल्पायुमै कलिलो छोरा गुमाउँदाको पीडामा परिवार छ। तर, उनीहरुले घटना बारे प्रहरीलाई जानकारी गराएनन्। घटना सञ्चार माध्यममा बाहिरिएपछि शनिबार मात्रै प्रहरीले पत्तो पाएको थियो।

पछि जनप्रतिनिधि र सुनसेरा प्रहरीको टोली पीडीत परिवार भेट्न घरमै पुगेको हो।

‘सञ्चार माध्यमबाट घटना बारे जानकारी पायौंँ, सुनसेराबाट प्रहरी टोली पीडितपरिवारलाई भेटेर फर्किएको छ,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले भने, ‘अहिले प्रहरी बालकको खोजीमा जुटेको छ, उनको अवस्था अज्ञात छ।’

दीपेन्द्रलाई सकुशल पाउने आशा परिवारले मारिसकेको छ। त्यसैले हिन्दु परम्पराअनुसार परिवारले उनको अन्तिम संस्कारको काम गरेका छन्।

प्रहरीलाई जानकारी दिनुपूर्व स्थानीयले महाकालीमा बालकको खोजी गरेका थिए। सञ्चार सुविधा नहुँदा घटनाबारे जानकारी दिन ढिलाइ भएको पीडित परिवारले भनेको प्रहरी निरीक्षक भण्डारी बताउँछन्।

घटनाबारे ढिलो जानकारी आउनुको पछाडि सञ्चार सुविधा अभाव साथै अन्य थप दुई कारण देख्छन्, गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवर।

घटनाबारे जानकारी पाएपछि उनी शनिबार पीडित परिवार र गाउँलेलाई भेट्न कौनणी पुगेका थिए।

‘तुइन अवैधानिक हुनाले प्रहरीलाई भने अनावश्यक दुःख पाइने भन्ने त्रास स्थानीय पाइयो, चुनाव अघि त्यही ठाउँका नरसिंह विष्टको हत्या घटनामा वडाध्यक्ष, पूर्ववडाध्यक्ष सहित केही स्थानीय मुछिए,’ उपाध्यक्ष कुवँर भन्छन्, ‘त्यस घटनाले त्रसित स्थानीय डरले घटनाबारे जानकारी नदिइ बसेको देखिन्छ।’

सञ्चार सुविधा नहुँदा पनि घटना ढिलो बाहिरिएको उनको भनाइ छ। ‘त्यहाँ सञ्चार सुविधा पनि राम्रो छैन, फोन गर्न माथी आउनुपर्छ,’ उनले भने, ‘त्यसैले पनि घटना ढिलो बाहिरिएको हुनसक्छ।’

प्रहरीले आइतबार बेपत्ता बालकको खोजीका साथै घटनाको मुचुल्का उठाउने तयारी गरेको छ।

ताजा समाचार