‘उप्परका आदेश’ भन्दै भारत प्रवेशमा कडाइ, नेपालीलाई सास्ती दिँदै एसएसबी

Share post:

कञ्चनपुर। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालको पश्चिमी सीमा नाकामा कडाइ गरेको छ। कञ्चनपुरस्थित गड्डाचौकी नाका भएर भारत प्रवेशमा कडाइ गरेको हो।

पछिल्लो केही दिन यता भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गड्डाचौकी नाकामा अनावश्यक सास्ती दिने गरेको नाका भएर नेपाल–भारत ओहोरदोहोर गर्ने नेपाली नागरिकको गुनासो छ।

‘उप्परका आदेश’ भन्दै एसएसबीले अनावश्यक खानतलासी गर्ने, बिना कारण नाकामा नेपालीलाई रोकेर दुख दिइरहेको उनीहरुको गुनासो छ।

‘नाकामा एसएसबीले नेपालीलाई अनावश्यक दुख दिइरहेका छन्, बिना कारण रोकेर लामो लाइन बस्नु परेको छ,’ शुक्रबार गड्डाचौकी भएर भारततर्फ गइरहेका स्थानीय नेत्रराज भट्टले भने, ‘उपरका आदेश भनेर पैदल र सवारी साधन दुवैलाई रोकेर अनाश्यक केरकार गरिरहेका छन्।’

नाकामा भारतीय एसएसबी विगत भन्दा भिन्न व्यवहारमा प्रस्तुत हुँदा पनि नेपाली प्रशासन मुकदर्शक बनेर बसेको आरोप छ। भारतीय एसएसबीले गड्डाचौकी नाका भएर भारत प्रवेश गर्दा परिचय खुल्ने प्रमाण पत्र अनिवार्य गरेको छ।

एसएसबीले कागजपत्र जाँच गरेपछि मात्रै भारत प्रवेश गर्न दिइरहका छन्। कागजपत्र नहुनेलाई नाकाबाट एसएसबीले घर फिर्ता पठाइरहेका छन्।

‘बिगतमा हामी प्रमाण पत्र नभए पनि भारततर्फ जान्थ्यौं, नयाँ सरकार बनेपछि केही दिन यता एसएसबीले कडाइ गरेको हो,’ भट्टले भने, ‘कि त नाका पुरै सील गर्नुप-यो, होइन भने आवागमन सहज बनाउनुपर्छ।’

किनमेल तथा उपचारका लागि भारततर्फ गइरहेका नेपालीलाई नाकामा रोकेर एसएसबीले सास्ती दिइरहेको उनले बताए।

‘हेल्मेट हालेर जानुपर्ने ठाउँमा हेल्मेट निकालेर जाउ भन्छन्, कागजपत्र अनिवार्य गरेका छन्, नभएकालाई फर्काउँदैछन्,’ उनले भने, ‘नेपालतिर भने भारतीयले कागजपत्र केही देखाउनु पर्दैन, सहजै आइरहेका छन्।’

नाकामा भारतीय पक्षले जाँचमा कडाइ गरेपछि भारततर्फ किनमेल तथा उपचारका लागि जाने स्थानीय नागरिकले सास्ती भोग्नु परेको हो।

भारत प्रवेशका लागि एसएसबीले परिचय खुल्ने प्रमाण पत्र अनिवार्य गरेको गड्डाचौकी नाकामा तैनाथ एक सुरक्षाकर्मीले बताए।
‘एसएसबीले अचेल कागजपत्र खोजी गरिरहेका छन्,’ ती सुरक्षाकर्मीले भने, ‘अगाडि त्यस्तो हुदैनथ्यो, हामी नेपाल प्रवेश गर्दा गाडीहरु इन्ट्री गरेर आउन दिन्छौं।’

भारतमा जनवरी २६ मा गणतन्त्र दिवस भएकाले त्यसकै सुरक्षाका लागि भारतीय पक्षले नाकामा कडाइ गरेको हुनसक्ने उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी बताउँछन्।

यसअवधिमा बिगतका वर्षमा पनि नाकामा कडाइ हुने गरेको उनले बताए। ‘अन्तराष्ट्रिय नाका भएकाले जनवरी २६ लाई मध्यनजर गरेर भारतले कडाइ गरेको हुनसक्छ,’ उनले भने, ‘आतंकवादी घटना हुनसक्ने भएकाले गणतन्त्र दिवस अघि पनि नाकामा कडाइ गरिन्थ्यो।’

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने यस बारेमा भारतीय पक्षले आफूहरुलाई कुनै जानकारी नदिएको जनाएको छ।
‘पारिबाट नाकामा कडाइ गर्ने भनेर प्रशासनलाई कुनै पूर्वजानकारी छैन,’ सीडीओ गोपालप्रसाद अर्यालले भने।

ताजा समाचार