अनाथालयका वार्डेनविरुद्ध दुई बालिकाको बलात्कार जाहेरी, ‘गर्भपतन’पछि बाहिरियो घटना

Share post:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित समाज कल्याण बाल अनाथालयका प्रमुख (वार्डेन) ५१ वर्षीय शंकर बहादुर चन्द विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ।

अनाथालयमा आश्रय लिएर बसेका बालिकामाथि बलात्कारको आरोपमा चन्द मंगलबार दिउँसो पक्राउ परेका थिए।
उनीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेर अदालतबाट अनुसन्धानका लागि एक साताको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।

उनका अनुसार अनाथालयमा बस्ने १४ वर्षीया दुई बालिकालाई वार्डेन चन्दले बलात्कार गरेको आरोप छ।
‘अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं,’ डीएसपी शाहले भने, ‘अहिलेसम्म दुई बालिकाले आफूमाथि बलात्कार भएको भनेका छन्।’

चन्दले विगत एक वर्षदेखि यौनजन्य गतिविधि गर्दै आएको पीडित बालिकाको बयान छ।१४ वर्षीया ती बालिकाले प्रहरीलाई दिएको बयान अनुसार अनैतिक सम्बन्धले गर्भ रहेको थियो।

त्यसपछि वार्डेन चन्दले १४ गते गर्भपतनको औषधि सेवन गर्नका लागि दिएको ती बालिकाले प्रहरी समक्षको प्रारम्भिक बयानमा भनेकी छन्।

‘औषधि सेवन गरेपछि यौनाङ्बाट रगतले भरिएको डल्लो जस्तो निस्कियो, अत्याधिक रक्तश्राव पनि भयो,’ स्रोतले भन्यो, ‘करिब एक वर्षदेखि जबरजस्ती गर्ने गरेको ती बालिका भनेकी छन्।’

बालिका यो घटनापछि कोठामै थलिएकी थिइन्। त्यसपछि घटना बारेमा हल्लाखल्ला भएपछि प्रहरीले मंगलबार चन्दलाई नियन्त्रणमा लिएको थियो।

ती बालिका करिब ४ वर्ष अगाडि मात्रै अनाथालयको आश्रयमा आएकी थिइन्। यस्तै, अनाथालयकै अर्की १४ वर्षीया बालिकाले पनि आफूमाथि बलात्कार गरेको आरोपमा चन्द विरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्।

उक्त अनाथालयमा २२ बालक र ५ बालिका बस्दै आएका छन्। ती बालिकालाई अहिले प्रहरीले ‘सेफ हाउस’मा राखेको छ। ‘गर्भपतन गराएको जस्तो पनि देखिन्छ, फोटो प्राप्त भएको छ, अन्य प्रमाण संकलन गरेका छौं,’ स्रोतले भन्यो, ‘विस्तृत अनुसन्धान भइरहेको छ।’

ती बालिकाको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए। पीडितको स्वास्थ्य परीक्षण रिपोर्टले अनुसन्धानलाई सघाउने छ।

आरोपीले भने अझैसम्म घटना बारेमा मुख नखोलेको प्रहरीले जनाएको छ।विसं २०४९ मा अनाथालय स्थापना भएसँगै चन्द कार्यालय प्रमुख र वार्डेनका रुपमा काम गर्दै आएका छन्।

अनाथालयमा रेखदेखको काम दिनको समयमा चन्दले गर्थे भने रातिको समयमा अन्य दुई जना गर्दै आएका छन्।
अनाथालयमा बस्नेहरुको खाना र पठनपाठनको व्यवस्था अनाथालयले नै गर्ने गरेको छ।

यो पनिः बालिकासँग अनैतिक कुरा गरेको आरोपमा समातिए महाकाली बाल अनाथालयका प्रमुख

ताजा समाचार