कञ्चनपुर। बाँकेको कोहलपुर क्षेत्रबाट समातिएका कैलालीको प्रतिनिधि सभा क्षेत्र नं. २ का नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई आज (शुक्रबार) अदालत प्रस्तुत गराइदैछ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सांसद चौधरीलाई अदालतको फैसला कार्यान्वयनका लागि आज उपस्थित गराउँदैछ।
‘उहाँलाई अदालतको फैसला कार्यान्वयनका लागि आज अदालत लैजान्छौंैं,’ डिएसपी बेदप्रकाश जोशीले भने, ‘त्यसपछि आवश्यक प्रक्रिया अगाडि बढ्छ।’
विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर सांसद चौधरीलाई ६ महिना कैद सजाय सुनाइएको थियो। तर उनले कैद सजाय भुक्तान नगरेरै मंसिर ४ मा चुनावमा उम्मेदवार बनेर कैलाली २ बाट जितेका थिए।
अदालतको तोकेको कैद सजाय भुक्तान नगरेर फरार सूचीमा रहेका चौधरीलाई बिहीबार दिउँसो बाँकेबाट पक्राउ गरिएको थियो। त्यसपछि सुरक्षा चुनौतीले उनलाई हवाइ मार्गबाट काठमाडौं हुँदै बिहीबार बेलुकबा धनगढी ल्याइएको थियो।
सांसद चौधरी अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा छन्। बाँकेबाट सडक मार्ग भएर कैलाली ल्याउँदा लामो दूरी भएकाले सुरक्षा जटिलता आउनसक्ने भन्दै प्रहरीले चौधरीलाई हवाइ मार्ग भएर काठमाडौ घुमाएर कैलाली ल्याएको थियो।
नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाइको लागि २४ घण्टे अल्टिमेटम दिएको छ। यसअवधिमा चौधरी रिहाइ नभए आन्दोलन गर्ने उन्मुक्तिको चेतावनी छ।
सरकार र तत्कालीन आन्दोनकारी थरुहट थरुवान पक्षबीच २०६६ भाद्र ३ गते समझदारी भएको विषयलाई उठाएर सुनियोजित ढंगले सांसद चौधरीलाई पक्राउ गरिएको उन्मुक्तिको आरोप छ।