कञ्चनपुर। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले फागुन १३ पछि विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मतका लागि मुख्यमन्त्री नियुक्त भएकै अर्को दिनदेखि शाहले दौडधूप तीव्र पारेका छन्।
२६ माघमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले शाह सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्री नियुक्त भएका थिए। उनले एक महिना भित्र अथार्त फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने छ।
नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावलले विश्वासको मत जुटाउन नसक्दा २९ दिनमै एमाले नेतृत्वको गठबन्धनको सरकार ढलेर सत्ता कांग्रेसको पोल्टामा पुगेको छ। मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रावललाई विश्वासको मत दिएको थिएन।
त्यसपछि मुख्यमन्त्री नियुक्त कांग्रेसका शाहले पनि नागरिक उन्मुक्तिकै साथ खोजेका छन्। विश्वासको मतमा नागरिक उन्मुक्तिलाई फकाउन उनी मुख्यमन्त्रीको शपथ लिएकै अर्को दिन शनिबार संरक्षक समेत रहेका रेशम चौधरीको घरमा पुगेर उनको परिवारलाई भेटेका थिए।
त्यसपछि मुख्यमन्त्री शाहले अध्यक्ष रञ्जिता श्रेष्ठ र प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीसँग पनि छलफल गरेका थिए। त्यस क्रममा उनले रेशम चौधरीलाई जेलमुक्त गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
८ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर भएर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी डिल्लीबजार कारागारमा जेल जीवन काटिरहेका छन्।
नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाईलाई ‘बटम लाइन’ बनाएर सत्ताको सौदाबाजी गरिरहेको छ। मुख्यमन्त्री शाहले केही दिन अघि डिल्लीबजार कारागारमै गएर रेशम चौधरीसँग भेटेर विश्वासको मत दिन प्रस्ताव गरेका थिए।
चौधरीले मुख्यमन्त्री शाहसँग केही दिनपछि विश्वासको मतको बारेमा निर्णय लिने बताएका थिए। नेकपा एमाले नेतृत्वको सरकारलाई चौधरी रिहाइ नभएको भन्दै विश्वासको मत दिएको थिएन।
कांग्रेसका शाहलाई पनि विश्वासको मतका लागि चुनौती छ। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउनका लागि २७ सांसद आवश्यक पर्छन्। नेपाली कांग्रेसका १९ र नेकपा एकीकृत समाजवादीका ४ गरेर अहिले सत्ता पक्षसंग २३ सांसद छन्।
आफ्नो नेतृत्वको सरकार जोगाउनका कांग्रेसलाई नागरिक उन्मुक्ति वा नेकपा माओवादी केन्द्र एक दलको समर्थन आवश्यक छ। सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रका ११ (सभामुख), नेकपा एमालेका १० (उपसभामुख), नागरिक उन्मुक्तिका ७ र एक जना स्वतन्त्र सांसद गरेर सत्ता बाहिर २९ जना सांसद छन्।
फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्ता तोकिएकोले सो पछि मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका छन्। राष्ट्रपतिको चुनावले सत्तारुढ गठबन्धन विग्रह उत्पन्न हुने र तत्कालीन वाम लोकतान्त्रिक गणबन्धन ब्यूँतिने आशामा कांग्रेस छ। विश्वासको मतका लागि त्यसकै पर्खाइमा मुख्यमन्त्री शाह छन्।
‘१३ गतेपछि विश्वासको मत लिन्छौँ, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको मत पाउनेमा ढुक्क छौँ,’ कांग्रेस सांसद मेघराज खड्काले भने, ‘उहाँहरुसंगका छलफल सकरात्मक रुपले अगाडि बढेका छन्।’
नेकपा माओवादी केन्द्र अहिले एमालेसंगको गठबन्धनमा रहेकाले प्रदेशमा कांग्रेससँग सहकार्य गर्ने बारेमा आफूहरुले निर्णय गर्न नसक्ने माओवादी सुदूरपश्चिम प्रदेशका एक नेताले बताए।
‘कांग्रेससंग सत्ता सहकार्य गर्ने बारेमा हामी केही भन्न सक्दैनौँ, यसमा केन्द्रबाटै निर्णय हुन्छ,’ ती नेताले भने, ‘अबको राजनीति कसरी अगाडि बढ्छ, त्यही अनुसार हामीले पनि सोच्नुपर्छ।’
नेकपा एमाले नेतृत्वको सरकार ढालेको नागरिक उन्मुक्ति पनि कांग्रेससंग सत्ता सहकार्य गर्ने/नगर्ने अझै निष्कर्षमा पुग्न सकेको छैन।
कांग्रेसलाई समर्थन गरेपनि केन्द्रमा उसको नेतृत्वमा सरकार नभएकाले आफ्नो माग सम्बोधन नहुने मनसायमा उन्मुक्ति छ। त्यसैले उन्मुक्ति पनि राष्ट्रपति निर्वाचनको पर्खाइमा छ।
‘कांग्रेसले सत्ता सहकार्यका लागि प्रस्ताव गरेको छ, तर हामीले यस बारेमा अहिलेसम्म औपचारिक निर्णय गरेका छैनौँ,’ नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले भने, ‘राष्ट्रपति चुनावले राजनीतिक समिकरणमा कस्तो हुन्छ? त्यो हेरेर १३ गतेपछि निष्कर्षमा पुग्छौँ।’