महोत्सवमा बोल्न समय नपाएको बारे सार्वजनिक कार्यक्रममै बोले मन्त्री भण्डारी

Share post:

कञ्चनपुर। सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा बोल्न नपाएको विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सार्वजनिक कार्यक्रममै मुख खोलेका छन्।

दैजी–छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले फागुन १ गते महेन्द्रनगरको खुलामञ्चमा जारी महोत्सवको उद्घाटन कार्यक्रममा बोल्न समय व्यवस्थापन नगरिएकोमा आफ्नो प्रतिकृया दिएका छन्।

आपूर्तिमन्त्री भण्डारीले आफू बोल्न नपाएकोमा उद्योग, वाणिज्य संघसंग असन्तुष्ट नरहेको बताए। उनले निजी क्षेत्रसंग सहकार्य गरेर जाने बताए।

‘मञ्चमा त्यो दिन के भयो, अध्यक्ष ज्यू पनि केही बाध्यतामा हुनुहुन्थ्यो होला, उहाँ मेरो आत्मिय साथी हुनुहुन्छ,’ मन्त्री भण्डारीले भने, ‘तपाईहरुसंग सहकार्य गर्न चाहन्छुँ, बोल्न पाइन भनेर कहि रोइलो गर्दिन।’

त्यस अघि महोत्सवमा बोल्न पाएको भएमा सुदूरपश्चिमका गौरवका योजनाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गर्न सकिने उनले बताएका थिए।

सोही कार्यक्रममा उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशी पनि सहभागी थिए। फागुन १ गते महोत्सव उद्घाटनमा आयोजक उद्योग वाणिज्य संघले आपूर्तिमन्त्री भण्डारीलाई सम्बोधनका लागि समय उपलब्ध गराएको थिएन। त्यसपछि मन्त्री भण्डारी असन्तुष्ट बनेका थिए।

ताजा समाचार