कञ्चनपुर। ‘अछामी बड्डो’को उपनामले चर्चित सूदूरपश्चिमका देउडा गायक लाल बहादुर धामीले आफ्नो पारिश्रमिकको तीन प्रतिशत रकम अक्षय कोषलाई दिने घोषणा गरेका छन्।
शुक्रबार आफ्नो जन्मोत्सवको अवसरमा गायक धामीले पारिश्रमिकको तीन प्रतिशत रकम कलाकार कल्याणकारी कोषलाई दिने घोषणा गरेका हुन।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कञ्चनपुर शाखाले स्थापना गरेको कलाकार कल्याणकारी कोषलाई फराकिलो बनाउने उद्देश्यले आफ्नो पारिश्रमिकको केही हिस्सा कोषमा राखिने गायक धामीले बताए।
‘अबदेखि मेला, महोत्सव, गीत गायन लगायतबाट कमाउने रकमको तीन प्रतिशत कोषका लागि छुट्याउने छुँ,’ उनले भने, ‘कलाकारहरु चलुञ्जेल पैशा कमाउँछन्, चल्न छोडेपछि दयनीय अवस्था हुन्छ, उहाँहरुको भलाईलाई कोष खडा गरिएको हो।’
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको कलाकार कल्याणकारी कोषले यस क्षेत्रका कलाकारको पीर, मर्कामा मल्हम लगाउने उनले विश्वास व्यक्त गरे।
प्रतिष्ठानले गायक धामीको जन्मदिनको अवसरमा आयोजना गरेको कार्यक्रममा उपस्थित कलाकार, पत्रकार, उद्योगी व्यवसायीहरुले धामीलाई शुभकामना समेत प्रकट गरेका थिए।
लामो समयदेखि सुदूरपश्चिमको देउडा गायनमा सक्रिय धामी रेडियोकर्मी पनि हुन। अहिले उनी कलाकार कल्याणकारी कोष स्थापना गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कञ्चनपुर शाखाका अध्यक्ष छन्।