कञ्चनपुर। त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको लागि नेकपा एमाले निकट अनेरास्ववियु कञ्चनपुरले तयारी तीव्र पारेको छ।
स्ववियु चुनावको मिति नजिकिएसँगै अनेरास्ववियुले कलेजमा कमिटी गठनदेखि विद्यार्थी भेला लगायत कार्यक्रम गरेको छ।
स्ववियु चुनाव हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गत कञ्चनपुरका १५ कलेजमा अनेरास्ववियुको संगठन दर्ता गरिएको अध्यक्ष कमल रोकायाले बताए।
‘त्रिविले दिएको समय सीमाभित्र चुनाव हुने १५ कलेजमा संगठन दर्ता भएका छन्,’ उनले भने, ‘अनेरास्ववियुको पङक्ति सबै कलेजमा चुनाव जित्ने गरी सक्रिय छ।’
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस सहित आंगिक कलेजमा एकैसाथ चैत्र ५ गते स्ववियु चुनाव हुँदैछ। त्यसका लागि महेन्द्रनगरको सिद्धनाथ विज्ञान, जनज्योति बहुमुखी, बालजागृती कलेज, शारदा विद्यापिठ, वारिधी कलेज र कञ्चन विद्या मन्दिर सामुदायिक कलेजमा अनेरास्ववियुको संगठन दर्ता भएको छ।
यस्तै, जिमुवाको दानेश्वरहरी, दोधारा चाँदनीको भानु बहुमुखी, झलारीको कृष्ण बैजनाथ, बंकको उदय सरस्वती क्याम्पस, गुलरियाको कञ्चन बहुमुखी, बेलौरीको महाकाली क्याम्पस, रामपुर बहुमुखी, बेलडाँडीको रौलेश्वर जनता आदर्श र पुनर्वासको जनता बहुमुखी क्याम्पसमा अनेरास्ववियुको संगठन दर्ता भएको छ।
कञ्चनपुरमा अनेरास्ववियु एक्लै चुनाव लड्ने अध्यक्ष रोकायाले बताए। ‘सत्तारुढ दल निकट विद्यार्थी संगठन गठबन्धन गरेर आए पनि हामी एक्लै लड्छौँ, गठबन्धनको सामाना गर्न तयार छौँ,’ उनले भने, ‘हामी सबै क्याम्पसमा चुनाव जित्छौँ।’
उनका अनुसार स्ववियु चुनावको लागि अनेरास्ववियुको जिल्ला कमिटीले शनिबार प्रशिक्षण कार्यक्रम समेत राखेको छ। एमाले पार्टी कार्यालय महेन्द्रनगरमा हुने प्रशिक्षण कार्यक्रमलाई अनेरास्ववियु र एमालेका नेताहरुले सम्बोधन गर्ने छन्।
एमाले पोलिट ब्यूरो सदस्य नारदमुनि राना, लीला भण्डारी, एमाले कञ्चनपुर अध्यक्ष सुरेन्द्र बिष्ट र अनेरास्ववियुका स्थायी कमिटी सदस्य राजेन्द्र बोहराले विद्यार्थीलाई स्ववियु चुनावको सम्बन्धमा प्रशिक्षण गर्ने कार्यक्रम छ।