वित्थडचिर गाउँपालिकाको गैरकानूनी काम विरुद्ध एमाले, गरायो ध्यानाकर्षण

Share post:

रमेश बोहरा/बझाङ । नेकपा एमाले निकट अनेरास्ववियु बझाङ र एमाले वित्थडचिरले गाउँपालिकाले गैरकानून गरेको भन्दै आपत्ति जनाएको छ।

वित्थडचिर गाउँपालिकाले मनोमानी ढंगले काम गरेको भन्दै एमालेले आपत्ति जनाएको हो। वर्तमान परिवेशमा गाउँपालिका भित्रका शिक्षा क्षेत्रमा विकृति पैदा भएको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराएको छ।

शिक्षा क्षेत्रमा भएको विकृतिको विरोध गर्दै अनेरास्ववियु बझाङ र एमाले गाउँ कमिटी वित्थडचिरले गाउँपालिकाका अध्यक्ष, शिक्षा संयोजक र प्रमुख प्रशासकीय अधिकृत समक्ष ज्ञापन पत्र बुझाएको हो।

गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत स्वयंसेवक शिक्षकहरुको न्यूनतम पारिश्रमिकको उचित व्यवस्थापन गरी पठनपाठनमा सहजता ल्याउन पर्ने माग राखेको छ।

यस्तै, सुनकुडा नमूना माध्यमिक विद्यालयको गणित विज्ञान विषयलाई तत्काल पठनपाठन व्यवस्था मिलाउन, भगवती माध्यमिक विद्यालय पोखरीका लागि लेखापाल भर्ना प्रक्रिया अगाडि बढाउनु पर्ने एमालेको माग छ।

राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत कार्यक्रममा भइरहेको कमिसन रोक्न, महिला बालबालिकाको क्षेत्रमा जनचेतना अभिवृद्धिको बजेट कार्यान्वयनमा नआएकोले तत्काल कार्यान्वयनमा ल्याउनु पर्नेमा उसले जोड दिएको छ।

योजना छनोट गर्दा राजनीतिक ढंगले गरेको, प्राविधिक कर्मचारी भर्नामा देखिएका विवाद बारेमा तत्काल निर्णय गर्नु पर्ने माग पनि एमालेले अघि सारेको छ।

संघीय सरकारको आर्थिक वर्ष २०८९/०८० अन्तर्गतका ग्रामीण सडकका ठेक्का प्रक्रिया अगाडि बढाउन पर्ने माग छ। सुनकुडा नमूना क्याम्पसको परीक्षा केन्द्र आवश्यक व्यवस्थापनमा निरन्तरता, निर्माण उपभोक्त समिति गठन गर्दा जनचाहना विपरीत नगर्न माग गरिएको अनेरास्ववियु प्रदेश कमिटी सदस्य योगेन्द्र बहादुर बोहराले बताए।

यी माग तत्काल सम्बोधन गर्नु पर्ने उनले बताए। अनेरास्ववियु प्रदेश कमिटी सदस्य र बझाङका सचिव, एमाले पाटी बझाङ अध्यक्ष, ईन्चार्ज लगायत एमालेका जिल्ला कमिटी सदस्य युवाहरुले पालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन्। माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने उनीहरुको चेतावनी छ।

ताजा समाचार