कञ्चनपुर। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। आइतबार प्रदेश सभा बैठकबाट शाहले विश्वासको मत पाएका हुन।
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले विश्वासको मत पाएको घोषणा गरे। शाहको पक्षमा ४१ प्रदेश सांसदले मतदान गरेका छन्। विपक्षमा ११ सांसदले मत खसाले। विश्वासको मत विभाजनमा ५२ प्रदेश साँसद उपस्थित थिए। शाहले दुई तिहाइ भन्दा बढि मत पाएका हुन।
सुदूरपश्चिमको हकमा यो ऐतिहासिक मत हो। यसअघि पहिलो कार्यकालका मुख्यमन्त्री त्रिलोचन भट्टलाई तत्कालीन नेकपाको ३७ सांसदको समर्थन थियो।
कांग्रेस नेतृत्वको सरकारलाई माओवादी, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजावादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।
नेकपा एमाले र राप्रपाले शाहलाई विश्वासको मत दिएन। संविधाको धारा १६८ को उपधारा ३ बमोजिम २६ माघमा संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए।
यो संगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार जोगिएको छ। यसअघि २७ पुसमा मुख्यमन्त्री नियुक्त एमालेका राजेन्द्र सिंह रावल समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा २९ दिनमै पदमुक्त भएका थिए।