महेन्द्रनगर। कञ्चनपुरका पत्रकार सुरेश धामीले पत्रिकाको कार्यालयमा आएर धम्की दिने समूहमाथि कडा कारबाहीको माग गरेका छन्।
आफूसँग असम्बन्धित विषयमा अनाधिकृत रुपमा पत्रिकाको कार्यालय प्रवेश गरेर धम्की तथा मानसिक तनाव दिएको धामीले बताएका छन्।
केही दिन अघि लेनदेनको विषयमा सम्बन्ध नै नराख्ने राप्रपा कञ्चनपुरका सचिव शिशिर थापाको नेतृत्वमा समूह अनाधिकृत रुपमा पत्रिकाको कार्यालयमा प्रवेश गरेर धामीलाई धम्काएको थियो।
यस घटनामा पत्रकार आबद्ध संगठन, पत्रकार महासंघले घोर आपत्ति जनाएका छन्। उनीहरुले पत्रिकाको कार्यालयमा प्रवेश गरेर धम्की दिने समूहमाथि कारबाहीको माग समेत गरेका छन्।
जग्गा लेनदेनको विषयमा असम्बन्धित थापा नेतृत्वको समूहले अर्को पक्षको पक्षपोषण गर्दै आफूलाई धम्की दिएको पत्रकार धामीले बताए।
‘जग्गा लेनदेनको विषयमा त्यो समूह सम्बन्धित नै छैन, उक्त समूहले अनावश्यक धम्की र तनाव दिएको छ,’ उनले भने, ‘जग्गा बेच्ने र किन्ने पक्षको सहमति विपरित १० लाख बढि तिर्नु पर्छ भन्ने अभिव्यक्तिले सो समूह दलालको भूमिका निर्वाह गर्दैछ भन्नेमा कुनै शंका छैन।’
दलबल सहित त्रसित पार्ने उद्देश्यले पत्रिकाको कार्यालयमा प्रवेश गर्नु खेदजनक रहेको पत्रकार महासंघ कञ्चनपुरको ठहर छ। धामी महेन्द्रनगरबाट प्रकाशित हुने अपि टुडे पत्रिकाका प्रकाशक÷सम्पादक हुन।
पत्रिकाको कार्यालयमा आएर धम्की दिने विरुद्ध पत्रकार धामीले प्रहरीमा उजुरी दिएका छन्। प्रहरीले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।