पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी

Share post:

कञ्चनपुर। पत्रिकाको कार्यालयमा अनाधिकृत रुपमा प्रवेश गरेर पत्रकार सुरेश धामीलाई धम्की दिएको विषयमा प्रेस चौतारी र पत्रकार महासंघ सुदूरपश्चिमले आपत्ति जनाएको छ।

प्रेस विज्ञप्ति जारी गरेर प्रेस चौतारी र पत्रकार महासंघ सुदूरपश्चिमले पत्रिकाको कार्यालयमा पत्रकारलाई धम्काएकोमा आपत्ति जनाउँदै कडा कारबाहीको माग गरेको छ।

धामी प्रकाशक/सम्पादक रहेको अपी टुडे दैनिक पत्रिकाको कार्यालयमै अनाधिकृत रुपमा प्रवेश गरेर धाकधम्की दिएर डराउन खोज्ने व्यक्तिहरूलाई कारवाही गर्न ढिलासुस्ती भइरहेकोप्रति प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

धामी प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य समेत हुन। राप्रपा कञ्चनपुरका जिल्ला सचिव शिशिर थापा नेतृत्वको समूह पत्रिकाको कार्यालयभित्रै पसेर धम्की दिएको घटनाबारे प्रहरीलाई लिखित जानकारी दिँदा समेत कारबाहीमा ढिलासुस्ती हुनु बिडम्बनापूर्ण रहेको चौतारीको ठहर छ।

‘प्रहरी प्रशासनले स्वस्फूर्त रूपमा शान्ति, सुरक्षाको प्रत्याभूति गराउनु पर्नेमा धाकधम्कीको जानकारी दिँदा समेत कुनै कारवाही नहुनुले कतै प्रहरी प्रशासनकै मिलेमतोमा गुण्डागर्दी भइरहेको त छैन भन्ने प्रश्न खडा भएको छ,’ प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटी महासचिव शिवराज भट्टद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा, प्रेस चौतारी नेपाल जिल्ला कमिटी कञ्चनपुर, नेपाल प्रेस युनियन कञ्चनपुर, प्रेस सेन्टर कञ्चनपुर लगायत संघसंगठनले घटनाको विरोध जनाउँदै कारवाहीको माग गरिसक्दा समेत प्रहरी प्रशासन नजरअन्दाज गरिरहेको प्रेस चौतारी प्रदेश कमिटीको जिकिर छ।

जिल्लामा क्रियाशील संघसंगठनको मागलाई बेवास्ता गर्दा प्रदेश कमिटी बोल्नुपर्ने अवस्था उत्पन्न भएको उसले जनाएको छ । ‘यसलाई सामान्य रूपमा नलिन प्रहरी प्रशासनलाई आग्रह गर्दछौं’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘घटनामा संलग्न व्यक्तिलाई यथाशीघ्र कारवाहीको दायरामा ल्याउन प्रेस चौतारी नेपाल प्रहरी प्रशासनसँग जोडदार माग गर्दछ।’

प्रेस जगत असुरक्षित हुने गरी कार्यालयमै आएर धम्की दिने कार्य नगराउन र दोषीलाई कारवाहीको दायरामा ल्याउन सहयोग गर्न सम्बन्धित राजनीतिक दललाई आग्रह समेत गरिएको छ।

दण्डहिनताका कारण गुण्डागर्दी जस्ता गैरकानूनी कार्य गर्ने व्यक्तिहरू दुरुत्साहित हुनेतर्फ सचेत रहन प्रहरीलाई आग्रह गरिएको हो। साथै दोषीमाथि कारवाही प्रक्रिया अगाडि नबढाए बाध्यात्मक रूपमा आन्दोलनमा होमिनु पर्ने चौतारीको चेतावनी छ।

यस्तै, पत्रकार महासंघ सदूरपश्चिमले पनि पत्रकार महासंघ कञ्चनपुर जिल्ला शाखाका सल्लाहकार समेत रहेका धामीलाई पत्रिकाको कार्यालयमा गएर अपशब्द प्रयोग गर्दै धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

‘महासंघ यस घनाप्रति खेद व्यक्त गर्दछ, यस प्रकारका घटना फेरि दोहरिन नदिन दोषीमाथि कानुनी कारबाही गर्न प्रशासनसंग महासंघ जोडदार माग गर्दछ’, महासचिव रामसिंह ठगुन्नाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

ताजा समाचार