माओवादी छोडेका लेखराज भेट्न घरमै पुगे प्रधानमन्त्री दाहाल

Share post:

कञ्चनपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको निवासमा पुगेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न आइतबार धनगढी ओर्लिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल एमाले सुदूरपश्चिम इन्चार्ज भट्टको निवासमा पुगेका हुन।

भर्खरै भट्टको निवासमा पुगेका दाहाल चिया नास्ता गरेर त्यहाँबाट सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त कार्यक्रममा सहभागी हुनेछन्।

एमाले सुदूरपश्चिम इन्चार्ज भट्टका स्वकीय सचिव हितेश ओझाका अनुसार प्रधानमन्त्री दाहाल चिया नास्ता गरेर निस्किने तयारीमा रहेका छन्।

भट्ट माओवादी पृष्ठभूमिका नेता हुन। कुनै बेला सुदूरपश्चिममा प्रचण्डका विश्वास पात्र मानिने भट्ट र दाहालबीच अहिले त्यति राम्रो सम्बन्ध छैन। तत्कालीन नेकपा विघटनपछि भट्ट एमालेमै बसेका थिए।

माओवादीमा हुँदा भट्ट स्थायी कमिटी सदस्य र सुदूरपश्चिम इन्चार्ज थिए। भट्ट माओवादीमा रहेका बेला दाहाल सुदूरपश्चिमा आउँदा उनको घरमा पुग्ने गरेका थिए।

भेटघाट गरेर खाना खाएर जाने गरेका थिए। तर वि.सं. २०७५ पछि सम्बन्ध चिसिएपछि दाहाल भट्टको घरमा आएका थिएनन्।

तत्कालीन नेकपाको धुव्रिकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिएका भट्टलाई दाहालले धनगढीको एक सभामा होच्याएर बोलेका थिए। त्यसपछि उनीहरुबीचको सम्बन्ध झनै चिसिएको थियो।

‘बिहान ८ बजेतिर प्रधानमन्त्री ज्यूले फोन गरेर म त्यता आउँदैछुँ, तपाईकोमा पनि आउँछुँ भनेर भन्नुभएको थियो,’ भट्ट निकट स्रोतले भन्यो, ‘उहाँले पनि हुन्छ आउनुस भन्नुभयो।’ भट्टले दाहाललाई निवासमा स्वागत गरेका थिए।

ताजा समाचार