रमेश बोहरा/देउलेख। बझाङको वित्थडचिर गाउँपालिका–७ सुनकुडास्थित सुनकुडा नमूना माध्यमिक विद्यालयको खाता सञ्चालन नहुँदा विद्यालयको कामकाज र शिक्षकको तलब रोकिएको छ। विद्यालयको खाता सञ्चालन नभएपछि शिक्षकहरुले चार महिनादेखि तलब पाउन सकेका छैनन्। जसले गर्दा अन्य कामकाजहरु समेत ठप्प भएका छन्।
विद्यालय व्यवस्थापन समितिले चयन गरेका प्रधानाध्यापक योगेन्द्र धामीलाई गाउँपालिकाले अख्तियारी नदिएपछि विद्यालयको खाता सञ्चालन हुन नसकेको हो।
माघ २६ गते समितिले विगत ४ वर्षदेखि कार्यरत माध्यमिक तह तृतिय श्रेणी शिक्षक धामीलाई प्रधानाध्यापक सिफारिस गरेको थियो।
सोही निर्णय र समितिको सिफारिसलाई आधार मानेर शिक्षा विकास तथा समन्वय ईकाई बझाङले धामीलाई १६ फागुनमा प्रधानाध्यापक नियुक्त गरेको थियो।
व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय ईकाईको निर्णयलाई लत्याएर वित्थडचिर गाउँपालिकाले भने प्रधानाध्यापकलाई विद्यालयको खाता सञ्चालनको अनुमति दिन आनाकानी गरिरहेको छ।
प्रधानाध्यापक नियुक्ति प्रक्रिया नमिलेको भन्दै खाता सञ्चालनको लागि अनुमति रोकेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका प्रवक्ता हरिचन्द्र जोशीले सोही विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया नपुगेकोले खाता सञ्चालनको अनुमति रोकेको स्विकार गरे।
उनले भने, ‘प्रधानाध्यापक नियुक्तिका लागि विद्यालय व्यवस्थापन समितिले आवेदन खोल्नु पर्छ, शिक्षकहरुबाट आएको आवेदनका आधारमा योग्यता पुगेको व्यक्ति प्रधानाध्यापक नियुक्त हुनुपर्ने हो, तर त्यहाँ त्यसो गरिएन र समितिले ठाडो सिफारिस गरेर प्रधानाध्यापक नियुक्ति गरियो, त्यसैले पालिकाले अनुमति रोकेको हो।’
प्रवक्ता जोशीले आफू व्यवस्थापन समितिको पदेन सदस्य रहेको र आफूलाई समेत प्रधानाध्यापक नियुक्ति प्रक्रिया जानकारी नगराएको बताए।
विद्यालयका प्रधानाध्यापक धामीले आफूलाई विद्यालय व्यवस्थापन समितिले प्रक्रियागत रुपमा नै प्रधानाध्यापक नियुक्त गरिएको दाबी गरे। उनले भने, ‘समितिले प्रक्रियागत रुपमा सिफारिस गरेर शिक्षा विकास तथा समन्वय ईकाईले प्रधानाध्यापक नियुक्त गरेको हो, सोही आधारमा अहिले सबै कामकाजहरु गरिरहेको छँ ।’
उनले थपे ‘जिल्ला प्रशासन र शिक्षा ईकाईको अनुमतिमा आठ कक्षाको परिक्षा र १० कक्षाको परिक्षा केन्द्राध्यक्षको रुपमा सञ्चालन गरिरहेको छु, तर गाउँपालिकाले भने राजनीतिक पुर्वाग्रह राखेर आफुलाई अनुमति दिन आनाकानी गरिरहेको छ।’
उनले विद्यालयमा आफूभन्दा सिनियर शिक्षक मदन बम रहेको र उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न आफूलाई आग्रह गरेपछि समितिले आफूलाई सिफारिस गरेको बताए। प्रधानाध्यापक धामीले गाउँपालिका जनप्रतिनिधीहरुले आफू अनकुलको शिक्षकलाई प्रधानाध्यापक बनाउने उद्देश्यले अनुमति दिन आनाकानी गरिरहेको बताए।
विद्यालयको खाता सञ्चालन अनुमती नदिएपछि शिक्षकहरुले विगत चार महिनादेखी तलब नपाएको र अन्य कामकाजहरु समेत रोकिएको उनले बताए। ‘विद्यालयमा थुप्रै कामहरु भइरहेका छन् भवन निर्माण, परिक्षा सञ्चालन, विद्यार्थी भर्नादेखि थुप्रै कामहरु प्रभावित बनेका छन्,’ उनले भने।
यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश अधिकारीले प्रधानाध्यापक नियुक्ति प्रक्रियामा कुनै विवाद नरहेकोले विद्यालयको खाता सञ्चालनको लागि पालिकाले अनुमति दिनुपर्ने उनले बताए। उनले सबै प्रक्रियाहरु पु¥याएर नियुक्ति सिफारिस गरिएको बताए।
‘समितिले निर्णय गर्ने क्रममा कसले दाबी विरोध नगरेकाले सर्वसम्मत प्रधानाध्यापक सिफरिस गरिएको हो, कसले दाबी विरोध गरेको भए आवेदन माग गर्ने तथा परिक्षा लिने हुन्छ,’ उनले भने, ‘तर एकल उम्मेद्धारी भएपछि सर्वसम्मत सिफारिस गरिएको हो ।’
उनले प्रक्रिया पुगेकै कारण शिक्षा विकास तथा समन्वय ईकाईले नियुक्ति पत्र प्रदान गरेको समेत प्रष्ट पारे। अधिकारीले गाउँपालिकाले त्यसरी रोक्न नपाइने समेत बताए।
गाउँपालिका शिक्षा शाखा प्रमुख नरेन्द्र बहादुर धामी भने यस विषयमा जानकारी लिन खोज्दा सम्पर्कमै आएनन्।