एमालेले भीम रावललाई फकाउँदा माओवादीसँग नजिकिँदै लेखराज भट्ट

Share post:

कञ्चनपुर। गत चैत २६ मा नेकपा एमालेका सचिव लेखराज भट्टलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ कैलालीको अत्तरियास्थित उनको निवासमै पुगे।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आएका दाहाल माओवादीका आफ्ना विश्वासपात्र भट्टलाई भेट्न घरमै पुगेपछि राजनीतिक वृत्त तरंगित बन्यो।

लेखराज–प्रचण्ड भेटले उनीहरुबीचको लामो संवादहीनतामा विराम लाग्यो। प्रचण्ड विगतको मनमुटाव भुलेर एक्कासि लेखराज भेट्न पुगेपछि उनी फेरि माओवादीमै फर्किन लागेको भन्दै राजनीतिक वृत्त गर्मायो।

यसले तत्कालीन नेकपा हुँदाको तिक्तताले प्रचण्ड भन्दा फरक कित्तामा उभिएका भट्टलाई माओवादीसँग संवादको बाटो खोलिदिएको छ।

माओवादीसँगको विगतको तिक्तता बिर्सिँदै लेखराज तारन्तार पूर्वसहकर्मी नेतालाई भेटिरहेका छन्। माओवादीसँग दूरी घटाएर नजिकिँदै गएका छन्, भट्ट।

प्रचण्डसँगको भेटपछि माओवादीमा फर्किने चर्चाबीच केही दिनअघि लेखराजले माओवादी नेता जनार्दन शर्मालाई भेटेका थिए। एमालेमा समाहित भएपछि यसअघि लेखराजले यसरी माओवादी नेताहरुलाई भेटेका थिएनन्।

‘विगतमा माओवादीसँग संवादको अवस्था थिएन, प्रचण्डसँगको भेटपछि संवादहीनता टुटेको छ,’ एमालेमा रहेका एक पूर्वमाओवादी नेताले भने, ‘विगतको मनमुटाव बिर्सेर सम्बन्ध सुधारिँदै गएको छ।’

माओवादीमा सहयात्रीका रूपमा रहँदा प्रचण्ड भट्टको निवासमा आइरहन्थे। तर भट्ट एमालेमा बसेपछि प्रचण्ड भट्टको घर आउनु त परको कुरा, दुईबीच संवादसमेत भएको थिएन।

प्रचण्डसँगको भेटपछि लेखराजलाई माओवादी फर्किन लागेको? भन्ने प्रश्नले छोडेको छैन। त्यसपछि उनी माओवादीमा फर्किने सम्भावना नरहेको प्रष्टीकरण दिन व्यस्त छन्। प्रष्टीकरण दिने क्रममा उनले प्रचण्डलाई ओलीसँग मिल्न प्रस्ताव गरेकोसम्म भन्न भ्याएका थिए।

लेखराज माओवादीमा हुँदा स्थायी कमिटी सदस्य र सुदूरपश्चिम इन्चार्ज थिए। सुदूरपश्चिममा प्रचण्डको विश्वास पात्रका भट्टले अदालतको फैसलाले तत्कालीन नेकपा भंग भएर एमाले–माओवादी केन्द्र पुरानै अस्तित्वमा फर्किएपछि उनको साथ छाडेका थिए।
एमालेमा रहेका माओवादी नेताहरु ढिलोचाँडो फर्किने माओवादी नेताहरु बताउँछन्।

‘एमालेमा रहेका माओवादी साथीहरु निकै अपमानित छन्, अपमान सहेर बस्नुभन्दा मूल घरमै फर्किनु राम्रो हुन्छ,’ माओवादी सुदूरपश्चिमका सचिव जनक बुढा भन्छन्, ‘उहाँहरु ढिलोचाँडो माओवादीमै फर्किनुहुन्छ, त्यसको विकल्प छैन।’

माओवादीबाट एमालेमा प्रवेश गरेका अधिकतर नेता÷कार्यकर्ता सन्तुष्ट छैनन्। पछिल्लो समय जनयुद्धलाई घृणा गर्ने गरी एमाले अध्यक्ष केपी ओलीले हिंसाका रूपमा व्याख्या गर्न थालेपछि पूर्वमाओवादी नेताहरू चिढिएका छन्।

सुदूरपश्चिममा भट्टसँगै माओवादी छोडेर एमालेमा बसेका नेताहरु कम छन्। एमाले नेता डा. भीम रावललाई पाखा लगाएर भट्टलाई ओलीले सुदूरपश्चिमको इन्चार्ज बनाएका थिए।

एमालेको तल्लो तहको पार्टी संरचनासम्म भट्टको सम्पर्क राम्रो नरहेको नेताहरु बताउँछन्। भट्टले माओवादीबाट एमालेमा आएकालाई काखी च्याप्ने गरेको भन्दै उनको आलोचना हुने गरेको छ।

‘माओवादीबाट आएका साथीहरु थोरै छन्, अवसर पाउँदा उनीहरु नै प्राथमिकतामा पर्छन्,’ एमालेका एक नेताले भने, ‘लेखराज कमरेड अझै एमाले कार्यकर्तासँग घुलमिल हुन सक्नु भएको छैन, लामो समय पार्टीमा काम गरेका अन्य नेतालाई बाइपास गर्दै पार्टीमा योगदान नै नगरेकालाई नेतृत्वमा ल्याएकोले एमाले पङ्क्तिले उहाँलाई स्वीकार्न गाह्रो छ।’

रावललाई पार्टी जिम्मेवारीमा फर्काउन तयार
१० औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा पराजित भएपछि नेता भीम रावल पार्टी जिम्मेवारीमा छैनन्। यसपटकको चुनावमा उनले अछामबाट टिकट पनि पाएनन्।

टिकट खोसेर माओवादी पृष्ठभूमिका झपट बोहरालाई दिएपछि ओलीसँग असन्तुष्ट रावल उनको आलोचना गर्दै हिँडिरहेका थिए। रावलले टिकट नपाएकोले यसपटकको चुनावमा पनि सक्रिय भएनन्।

जसले गर्दा रावल निकट नेताहरु ओलीप्रति असन्तुष्ट छन्। उनीहरुले अछाममा टिकट पाएका बोहराविरुद्ध चुनावताका नाराबाजी मात्रै गरेनन् कालोझण्डा नै देखाएका थिए।

रावल सक्रिय नहुँदा यसपटकको चुनावमा एमालेले सुदूरपश्चिममा धक्का महसुस गरेको थियो। एमालेको ग्रासरुटमा अछाम पुगेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध पनि रावल निकट नेताकार्यकर्ताले नाराबाजी गरेका थिए। त्यसपछि पौडेल र रावलबीच ‘वाक युद्ध’ चलेको थियो।

एमालेमै बसेर नेतृत्वको खरो विरोध गरिरहेका रावलका गतिविधिमा लगाव लगाउन एमालेभित्र आवाज उठ्यो। ओलीले रावलसँग निर्णायक वार्ता गर्न उपाध्यक्ष पौडेलको नेतृत्वमा सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा सहितको वार्ता टोली बनाएका थिए।

उक्त टोलीले रावलसँग वार्ता गरिरहेको छ। रावल एमालेमा लामो समय योगदान गरेको पुरानो नेता भएकाले पार्टीले उनको उचित व्यवस्थापन गर्नुपर्ने एमालेवृत्तमा एक तप्काले आवाज उठाइरहेका छन्।

रावललाई उचित जिम्मेवारी दिने गरी छलफल भइरहेको एमाले नेताहरु बताउँछन्। रावलसँगको पटक पटकको वार्ता सकारात्मक दिशातिर गएको एमाले नेताहरुले बताइरहेका छन्।

‘उहाँसँगको वार्ता सकारात्मक ढंगले नै अगाडि बढिरहेको छ, कुनै अर्को पार्टीमा जाने भए उहाँ अहिलेसम्म गइसक्नुहुन्थ्यो, यो बीचमा पार्टीले पनि केही निर्णय गरेन,’ वार्ता टोलीसँग निकट रहेका एक एमाले नेता भन्छन्, ‘सकरात्मक निष्कर्ष निकाल्न छलफल भइरहेको हो।’

रावलले पनि विगतका कमीकमजोरी स्वीकारेर पार्टीले दिएको उचित जिम्मेवारी बहन गर्नुपर्ने ती नेताले बताएका छन्।

ताजा समाचार