खेती जोगाउन बगरको बास

Share post:

बेदकोट। कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लापट्टिकी सिठ्ठो रानाको केही महिनायता दैनिकी फेरिएको छ। अचेल दोदा नदीको बगरमा भेटिन्छिन्, उनी।

बगरको बीचमा सानो छाप्रो छ। त्यहीँ छाप्रो उनको बासस्थान बनेको छ। नदीको पाँच कट्ठा बगर क्षेत्रमा उनले तरकारी खेती गरेकी छन्। बगरमा लगाएको तरकारी कुर्न बगर छेउमा छाप्रो बनाएर बास बस्नु परेको सिठ्ठोले बताइन्।

“वर्षांैदेखि बगरमा खेती गर्दै आएका छौँ, यहीँबाट घरखर्च चलाउँछौँ”, उनले भनिन्, “माघदेखि जेठसम्म बगरमा खेती गर्छौं, अरू समयमा मजदुरी।”

श्रीमान् मीनबहादुर दिनभर तरभुजालगायत उत्पादन ट्र्याक्टरमा लगेर गाउँगाउँमा बिक्री गर्छन्। अट्ठाइस सदस्यीय रानाको संयुक्त परिवारको खर्च बगर खेतीबाटै चलेको छ।

“जङ्गली जनावरबाट खेती जोगाउन हम्मेहम्मे हुन्छ, चोरी पनि हुने गरेको छ”, सिठ्ठोले भनिन्, “जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन छाप्रोमै बास बस्ने गरेका छौँ।”

उनका अनुसार दिनमा आफू र राति श्रीमान् खेती हेर्नका लागि छाप्रोमा बस्ने गरेका छन्। बगरमा उत्पादित तरकारीबाट वार्षिक रू ६० हजारभन्दा आम्दानी हुने गरेको सिठ्ठोले जानकारी दिइन्।

लालझाडी गाउँपालिका–४ डाँडापट्टिकी डुठ्ठो रानाको दैनिकी पनि यस्तै छ। उनका श्रीमान् शारदा रोजगारीको सिलसिलामा भारतको सिम्लामा छन्। छोरीसहित डुठ्ठो बगर खेती गर्छिन्। उनले बगरमा काँक्रा, लौका, तरभुजा, फर्सीलगायत खेती गरेकी छन्।

जङ्गली जनावर र चोरीबाट खेती जोगाउन रातदिन बगरमै बास बस्नु परेको उनले बताइन्। “पाँच कट्ठा क्षेत्रमा खेती गरेकी छुँ, तयार भएको उत्पादन बिक्री गर्न थालेको साताभन्दा बढी भयो”, उनले भने, “रातमा जनावर र चोरीबाट खेती जोगाउन जाग्राम बस्नुपर्छ, जनावर धपाउन ढ्याङ्ग्रो बजाउँछौँ।”

तरकारी किन्न कतिपय ग्राहक बगरमै आउने उनको भनाइ थियो। यस वर्ष तरभुजा, काँक्रा, लौका, फर्सीलगायत तरकारी बिक्री गरेर रू १२ हजार आम्दानी गरिसकेको डुठ्ठोले जानकारी दिइन्।

बगरमा व्यावसायिक तरकारी खेती गरिरहेका तटीय क्षेत्रका किसान खेती जोगाउन बगरमा बास बस्ने गरेका छन्। विद्युत्को सुविधा नहुँदा सोलार बालेर खेती कुर्ने गरिएको लालझाडीको डाँगाजाईंका किसान दानसिंह गिरीले बताए।

“तरभुजा, काँक्रा चोरी हुने गरेका छन्, स्यालबाट पनि खेती जोगाउन मुस्किल छ”, उनले भने, “खेती जोगाउन राति जाग्राम बस्छौँ, दिनमा सुत्छौँ।” (रासस)

ताजा समाचार