दशकपछि विकासमा फड्को मार्दै खल्ला मसेट्टी

Share post:

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका रंगे बुढालाई टेलिफोन सम्पर्क गर्न रुख चढेको सम्झना ताजै छ। नेपाल टेलिकमको टावर पुगेपछि अहिले उनको बाध्यता हटेको छ।

नेपाली सीम कार्डकै प्रयोग गरेर टेलिफोन सम्पर्क गर्ने गर्छन, उनी। ‘यहाँ टावर नहुँदा नेपाली सीमबाट सम्पर्क गर्न डाँडो वा रुख उक्लिनुप¥थ्यो, त्यसैले अधिकाँस स्थानीयले भारतीय सीम प्रयोग गर्थे’, उनले भने, ‘अहिले यो बाध्यता हटेको छ, बिजुलीसँगै टावर बनेपछि सहजै सम्पर्क हुन्छ।’

कञ्चनपुरको दुर्गम भेगका रुपमा चिनिने भीमदत्त नगरपालिका–९ को खल्ला, मसेट्टी र टुडिखेलले स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणमा गति लिएको छ। विकासका पूर्वाधारबाट पछाडि परेका चुरे फेदीका यी बस्ती सडक सञ्जाल, विद्युत र सञ्चार लगायतका सेवा सुविधामा जोडिएका छन्।

‘अगाडि विद्युतको सुविधा थिएन, सोलार र टुक्कीले काम चलाउँथ्यौँ, दुई/तीन वर्षयता विद्युत आएको छ,’ टुडिखेलका लोकबहादुर थापा मगरले भने, ‘अन्धकारमा बस्नु पर्ने बाध्यता हटेको छ।’

खल्ला, मसेट्टी र टुडिखेलका स्थानीयले पछिल्लो केही वर्षयता विकासका पूर्वाधारसँग जोडिदै गएको उनको भनाइ छ। डेढ दशक अघिदेखि टुडिखेलमा बस्दै आएका छन्, उनी। डडेल्धुराबाट बसाइँसराइ गरेर खल्ल झरेका थिए।

‘सुरुवातमा यहाँ आउँदा निकै कठिन थियो, बाटोघाटो, शुद्ध पिउने पानी, विद्युतलगायत केही सुविधा थिएन,’ उनले भने, ‘दशक जति निकै दुःख झेलेर जीवन निर्बाह ग-यौँ।’

खल्ला, मसेट्टी र टुडिखेल सदरमुकाम महेन्द्रनगरदेखि झण्डै १५ किलोमिटरको दूरीमा पर्छन्। महाकालीको तीरै तीर ग्राभेल बाटो बनेपछि यहाँका स्थानीय सदरमुकामसँग जोडिएका छन्।

‘वर्षौपछि सडक सुविधा पाएका हौँ, पहिलो पटक स्थानीय तहमा जनप्रतिनिधि आएपछि हामीले विकासको आभाष गर्न पायौँ’, भीमदत्त नगरपालिका–९ खल्लाका सुरेन्द्र कठायतले भने, ‘अहिले गाउँसम्मै गाडी चल्छ।’

यसअघि बाटोको सुविधा नहुँदा यहाँका स्थानीय हिँडेरै आवतजावत गर्ने गरेका थिए। खल्ला, मसेट्टी र टुडिखेलसम्म महेन्द्रनगरबाट दिनहुँ एक बस छुट्ने गरेको छ।

गाउँ गाउँमा बस तथा अटो पुग्न थालेपछि आवातजावतमा निकै सहजता थपेको स्थानीयको भनाइ छ। वि.सं. २०५२ सालदेखि खल्ला, मसेट्टी र टुडिखेलमा मानव बस्ती बस्न थालेको हो।

टुडिखेलमा करिब २५०, खल्लामा १५० र मसेट्टीमा ७० परिवारको बसोबास रहेको छ। बर्खायाममा महाकालीमा आउने बाढीले दुख दिने गरेको खल्लाकी मनिषा साउदले बताइन्।

उनका अनुसार अझै सिँचाइको सुविधा नपुगेकाले आकाशको पानीको भरमा बाली लगाउने गरिन्छ। ‘सिँचाइको सुविधा नहुँदा आकाशको पानीको भरमा बाली लगाउनुपर्छ, अन्न खानलाई पनि उत्पादन हुदैन,’ मनिषाले भनिन्।

ताजा समाचार