कञ्चनपुर। मनसुन सुरु भएको पहिलो सातामै पूर्वी नेपालमा अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको छ। बाढी तथा पहिरोमा परेर पाँचथर, ताप्लेजुङ, भोजपुर र सङ्खुवासभामा कम्तिमा ८ जनाको मृत्यु भएको छ।
२७ जनाको अवस्था अज्ञात छ। सबैभन्दा बढी सङ्खुवासभामा २१ जना बेपत्ता रहेका छन्। बाढी, पहिलोले भौतिक क्षति पनि गरेको छ।
मनसुन सक्रिय नहँदा पश्चिम नेपालमा भने खडेरी छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।
बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। जल तथा मौसम विज्ञान विभागले सोमवार जारी गरेको बुलेटिनमा देशका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।
चर्को गर्मीले सुदूरपश्चिमको तराई क्षेत्रमा पर्ने कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित छ। अत्याधिक गर्मीका कारण विद्यालयहरु बन्द गर्नु पर्ने अवस्था सृजना भएको छ।
सुदूरपश्चिम पहाडी र तराई क्षेत्रमा खडेरीका कारण बालीनाली खेतमै सुकिरहेका छन्। बर्षा नहुँदा कैलाली–कञ्चनपुरमा अझै धान खेतीको लागि रोपाइँ सुरु हुन सकेको छैन।
सिँचाइको सुविधा रहेका केही ठाउँमा मात्रै रोपाइँ सुरु भएको छ। आकाशे पानीको भरमा रहेका किसान खडेरीको मारमा परेका छन्।
‘गतवर्ष यो समयमा रोपाइँ सुरु भइसकेको थियो, यसपटक पानी नै नपरेर खडेरी भएकाले रोपाइँ गर्न सकिएको छैन,’ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरी भन्छन, ‘सिँचाइको सुविधा नहुँदा आकाशको पानीको भरमा खेतीपाती गर्नुपर्छ।’
रोपाइँका लागि तयार भएको ब्याड पानी नपर्दा सुक्दै गएको किसानहरुको गुनासो छ। ‘वर्षा नहुँदा रोपाइँ सुरु भएको छैन, धानको ब्याड सुक्दै गएको छ,’ बेदकोट नगरपालिका–४ का केशव बोहराले भने, ‘यस्तै रह्यो भने त कसरी रोपाइँ गर्ने ?’
सिँचाइको अभावमा रोपाइँमा ढिलाइ हुँदा किसान चिन्तित बनेका छन् । धान बाली उत्पादनको दृष्टिकोणले महत्वपूर्ण जिल्ला मानिने कञ्चनपुरमा मल, बिउलगायत कृषि सामग्रीका साथै सिँचाइ सुविधाको अभावले आकाशे पानीको भर पर्नु पर्ने बाध्यता रहेको छ ।
सुख्खा खडेरीका कारण धान रोपाइँमा ढिलाइ भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकरी हरी जोशीले बताए।
‘सिँचाइको सुविधा भएको केही ठाउँतिर रोपाइँ सुरु भएको छ,’ उनले भने, ‘अधिकाँस किसानलाई आकाशे पानीको भर पर्नु पर्ने बाध्यता हुनाले सबैतिर रोपाइँ सुरु भएको छैन।’
उनका अनुसार जिल्लामा अहिलेसम्म करिब दुई प्रतिशत मात्रै रोपाइँ भएको छ। नहर तथा बोरिङ्गबाट सिँचाइ सुविधाको पहुँचमा भएका केही ठाउँमा किसानहरु रोपाइँ गरिरहेका छन्।
कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार ४९६ हेक्टर जमिनमा धान खेती गरिन्छ।