बझाङ दुर्घटना : अनुसन्धानका लागि छानबिन समिति, प्रतिवेदन बुझाउन १५ दिनको समयसीमा

Share post:

कञ्चनपुर। सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ।

बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले दिवगत मन्त्री सिंहसहित तीन जनाको ज्यान जाने गरी भएको गाडी दुर्घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले जानकारी दिए।

उनका अनुसार दुर्घटनाको छानबिनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव गंगाबहादुर खरेलको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो।

समितिमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक(एसएसपी), सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझा, मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेक बहादुर थापा, यातायात व्यवस्था कार्यालय धनगढीका मेकानिकल इन्जिनियर र कानुन मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थी सदस्य रहेका छन्।

समितिलाई सवारी दुर्घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरेर १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेश गर्न भनिएको छ। सो समयमा प्रतिवेदन पेश गर्न नसके आवश्यक परे मुख्यमन्त्रीले म्याद थप गर्न सक्नेछन्।

मन्त्री सिंह सवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सु.प.प्र. ००१ झ. ४८० नम्बरको गाडी मंगलबार बझाङ्गको केदारस्यूँ गाउँपालिका–१ देउरामा दुर्घटनामा परेको थियो।

सो दुर्घटनाको कारण खुलेको छैन। दुर्घटनामा परेर मन्त्री सिंह सहित पत्नी अमृता र भाउजू जयादेवीको पनि मृत्यु भएको थियो।
यस्तै, चालक धर्मराज जोशी र मन्त्रीका निजी सुरक्षा गार्ड (पीएसओ) दीपक भण्डारी घाइते भएका छन्।

उनीहरुको बाँकेको कोहलपुरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सुधारिदै गएको छ।

मन्त्री सिंह सहित चालक र पीएसओलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर कोहलपुर लगिएको थियो। कोहलपुरमा उपचारको क्रममा मन्त्री सिंहको निधन भएको थियो।

ताजा समाचार