सुदूरका एकै परिवारमा तीन सन्तान सरकारी जागिरे, सँगै खरिदार बने दाजुबहिनी

Share post:

कञ्चनपुर। डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बेडुपानीका एकै परिवारका दुई जनाले सँगै खरिदारमा नाम निकालेका छन्। २५ वर्षीय उद्धवराज भट्ट र उनकी बहिनी २२ वर्षीया पवित्रा भट्ट एकैपल्ट खरिदारमा उत्तीर्ण भएका हुन्।

लोक सेवा आयोग दिपायल कार्यालयले लिएको खरिदार पदको परीक्षामा सफल भएपछि उनीहरू अहिले चर्चामा छन्।

खुलातर्फबाट खरिदार बनेका उद्धवराज मालपोत कार्यालय अछाम र महिलातर्फबाट उत्तीर्ण पवित्रा मालपोत कार्यालय डोटीमा सिफारिस भएका छन्।

खरिदारमा नाम निस्किएपछि भट्ट दाइबहिनीलाई बधाई थाप्न भ्याइनभ्याइ छ। सामाजिक सञ्जाल, टेलिफोन तथा भेटेर उनीहरूलाई शुभचिन्तक, इष्टमित्रहरूले बधाई दिइरहेका छन्।

लामो मिहेनतपछि सँगै खरिदार बन्न पाउँदा उनीहरू निकै खुसी छन्। भट्ट परिवारसँगै गाउँमै खुसीयाली छाएको छ। उद्धवराज र पवित्राका बुवा र आमा कृषी पेसामा आवद्ध छन्।

पहिलो प्रयासमै सफलता
पवित्राले शिक्षारम्भ गाउँकै विजय लक्ष्मी प्राध्यमिक विद्यालयबाट गरेकी थिइन्। नवदुर्गाकै बडबसन्तपुरस्थित भुवनेश्वर माध्यमिक विद्यालयमा उनले कक्षा ५ देखि कक्षा १२ सम्मको अध्ययन गरिन्।

वि.सं. २०७२ सालमा २.४ जीपीए ल्याएर एसएलसी उत्तीर्ण गरेकी उनले कक्षा ११ र १२ मा व्यवस्थापन संकाय रोजिन्। वि.सं. २०७५ सालमा २.४२ जीपीए ल्याएर कक्षा १२ सकिएपछि उनी स्नातक तह पढ्न डडेल्धुरातिर लागिन्।

उनी अहिले डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययन् छिन्। पहिलो प्रयासमै खरिदार बनेपछि खुसी लागेको पवित्रा बताउँछिन्।

‘यसअघि खरिदारको परीक्षा कहिल्यै दिएकी थिइन, पहिलो प्रयासमै सफल भइयो,’ उनले भनिन्, ‘दाइसँगै खरिदारमा सिफारिस हुँदा निकै खुसी लागेको छ।’

यसअघि उनले कृषि विकास बैंकको चौथो तहको परीक्षा दिएकी थिइन्। तर सफल हुन सकिनन्।

‘कृषि विकास बैंकको परीक्षा तयारीबिना दिएकी थिएँ, सफल भइएन्, अनुभव हासिल गरेँ,’ उनले भनिन्, ‘त्यसपछि खरिदारको तयारीमा जुटेँ।’

अब पढाइसँगै माथिल्लो तहको लोक सेवाको तयारीलाई अघि बढाउने सोच रहेको उनले बताइन्।

असफलता पछिको सफलता
उद्धवराजले वि.सं. २०७१ सालमा भुवनेश्वर माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे। त्यसपछि पढाइको लागि तराई झरे।

कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीबाट उनले वि.सं. २०७६ सालमा आइएससी उत्तीर्ण गरे। विद्यालय तहमा आफ्नो पढाइ मध्यम नै रहेको उनी बताउँछन्।

त्यसपछि उनी स्नातक तहको पढाइ अगाडि नबढाएर लोक सेवाको तयारीमा जुटे। यसबीचमा खरीदार र नायव सुब्बाको परीक्षामा सामेल भए, उनी। पहिलो पत्रमा उत्तीर्ण भएका उनले दोस्रो पत्रको परीक्षामा सफलता हासिल गर्न सकेनन्।

अहिले भने उनै उद्धवराज खरिदार बन्न सफल भएका हुन्। अब नायब सुब्बासँगै स्नातकको पढाइको तयारी गर्ने उनी बताउँछन्।

अध्ययनमा निरन्तरता हुनुपर्ने उनको भनाइ छ। ‘दृढ विश्वासका साथ निरन्तर अध्ययन गर्दा नै सफल भएको जस्तो लाग्छ,’ उनले भने।

तीन सन्तान सरकारी जागिरे
नवदुर्गा गाउँपालिका–२ का लोकराज भट्ट र टिकेश्वरीदेवीका चार सन्तान छन्।

कान्छा छोरा उद्धवराज र छोरी पवित्राले एकै पटक खरिदारमा नाम निकालेसँगै भट्ट दम्पत्तिका तीन सन्तान सरकारी जागिरे बनेका हुन्।

जेठा छोरा दीपेन्द्र वि।सं। २०७२ साल निजामती सेवामा प्रवेश गरेका थिए। उनी अहिले नापी कार्यालय डडेल्धुरामा कार्यरत छन्। जेठी दिदीको भने बिहे भइसकेको छ।

दाई दीपेन्द्रलाई प्रेरणाको स्रोत मान्छन्, उद्धवराज र पवित्रा। ‘दाईको प्रेरणाले नै हामी निजामती सेवातर्फ लागेका हौँ,’ पवित्राले भनिन्, ‘कान्छो दाइसँग कम्बाइन गरेर अध्ययन गरियो, यसले तयारी गर्न सहज भयो।’

ताजा समाचार