कञ्चनपुर। सुदूरपश्चिम प्रदेश सरकारमा नयाँ मन्त्रीको सपथ ग्रहण कार्यक्रम स्थगित भएको छ।
नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सरकारमा सामेल नहुने पत्र मुख्यमन्त्री कमलबहादुर शाहलाई पठाएपछि सपथ रोकिएको हो।
नागरिक उन्मुक्ति पार्टीले मन्त्रीको शपथ ग्रहणको लागि तयारी अवस्थामा पुगेका आफ्ना प्रदेश सभा सदस्यलाई फिर्ता बोलाएको छ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथको लागि पुगेका रामेश्वर चौधरी र राज्यमन्त्रीको शपथको लागि पुगेका कैलाश चौधरीलाई फिर्ता बोलाएको हो।
शपथ ग्रहणको लागि संसदीय दलका नेता घनश्याम चौधरीसहितका नेताहरु आज दिउँसो नै टीकापुरबाट धनगढी पुगेका थिए।
केन्द्रको निर्णय र सहमति अनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकोले सरकारमा सहभागी नहुने अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री शाहलाई पत्राचार गरेर जानकारी दिएकी थिइन्।
उन्मुक्तिको पत्रले सुदूरपश्चिम मन्त्री परिषद् विस्तारको कार्य पुनः अन्योल सिर्जना भएको छ। यसअघि जेठमा नै गठबन्धनको भागबण्डामा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय उन्मुक्तिको भागमा परेको थियो।
त्यस बेला पनि उन्मुक्ति सरकारमा सामेल भएको थिएन। नागरिक उन्मुक्तिले दुई पूर्ण र राज्यमन्त्रीमा दाबी गर्दै आएको छ।
दुई पूर्ण मन्त्रालयका लागि उन्मुक्तिले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई अघि सारेको थियो। पार्टी भित्रको विवादपछि अहिलेका लागि शपथ ग्रहण रोकिएको हो।