मट्टीतेल छर्केर आफ्नै शरीरमा आगो लगाइन्, अस्पताल नपुग्दै बाटोमै प्राण त्यागिन्

Share post:

कञ्चनपुर। दार्चुलामा मट्टीतेल छर्केर एक महिलाले आत्मदाह गरेकी छन्। शैल्यशिखर नगरपालिका–५ सेतकलाकी ४५ वर्षीया सुना साउँदले आत्मदाह गरेकी हुन।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान घरमा कोही नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आगो लगाएकी थिइन्।
घाइते साउदलाई स्थानीयले उद्धार गरेर उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याएका थिए।

गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि घाइते महिलालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बेलुका मृत्यु भएको हो।
थप उपचारका लैजाँदा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार शव अहिले गोकुलेश्वर अस्पतालमा राखिएको छ। साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो।
साउँदले शरीरमा आगो लगाउनुको कारण खुलेको छैन। मृतकको घरमा श्रीमान्, छोरा बुहारी र नातिनातिना छन्।

स्थानीयका अनुसार आत्मदाह गरेकी महिला सुस्त मनस्थिति थिइन्। आइतबार बिहान सुनाले श्रीमान्लाई टाउको दुखेको सुनाइन्। श्रीमान् औषधि लिन प्राथमिक स्वास्थ्य केन्द्र गएका थिए। त्यसै बेला उनले मट्टीतेल छर्केर आत्मदाह गरिन्।

जलेपछि छटपटिएर चिच्याउँदै घरबाट दुई/तीन सय मिटर भागेको शैल्यशिखर नगरपालिका–५ का अध्यक्ष जनकसिंह डागाले बताए।

‘छिमेकी गाउँलेहरुले देखेपछि आगो निभाएर उपचारका लागि अस्पताल ल्याए,’ उनले भने, ‘तर बचाउन सकिएन।’

ताजा समाचार